कोरोना माहामारीमा पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको आवश्यकतालाई पहिचान गरौँ


विश्वका कतिपय अरु क्षेत्रहरू जस्तै एशिया प्रशान्त क्षेत्र पनि कोभिड-१९ माहामारीका कारण स्वास्थ्य क्षेत्रमा अभूतपूर्व आपतकाली अवस्थाबाट गुज्रिरहेको छ । पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सहित समाजमा सिमान्कृत जनसंख्यालाई यसको प्रभावहरू विनाशकारी र दीर्घकालीन हुनेछ । यस वर्ष पारलिङ्गी दृश्यताको अन्तर्राष्ट्रिय दिवसका दिन, पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई हुने भिन्न प्रकारका जोखिमहरूलाई पहिचान गर्न र ती विशेष आवश्यकतहारूलाई शीघ्र सम्बोधन गर्नका निम्ति हामी सम्पूर्ण सरोकारवालाहरू, मुख्यतः सरकारमा रहेका निर्णयकर्ताहरू, राष्ट्रिय मानव अधिकार निकायहरू, संयुक्त राष्ट्र संघ मानव अधिकार निकायहरू र दातृ निकायहरूलाई स्मृति गराउन चाहन्छौं ।

यस महामारीले एसिया प्रशान्त क्षेत्रमा जनस्वास्थ्य पूर्वाधारको नाजुक अवस्था र खाडलहरूको डरलाग्दो स्थितिलाई छर्लङ्याएको छ । यस क्षेत्रका अधिकांश देशहरूमा जनताको स्वास्थ्य आवश्यकताहरूलाई पर्याप्त ढङ्गले पूर्ती गर्न अस्पतालहरू पहिल्यै देखि नै उपकरण, सुविधा तथा मानव संसाधनको अभाव भोगिरहेका थिए । यस माहामारीले बिगबिगी रूप लिएपछि यस अभाव अझै नै तीव्र रूपमा बढ्ने आकलन गर्न सकिन्छ किनभने गम्भीर स्वास्थ्य सेवा चाहिने बिरामीहरू घन्टौँको हिसाबले नै बढ्नेछ । राज्यले दशकौँ सम्म गरेको लापरवाही, सामाजिक कल्याणमा भन्दा रक्षात्मक प्रणालीमा बजेट प्राथमिकता, (१) र बढ्दो क्रममा रहेको स्वास्थ्य क्षेत्रको नीजिकरण (२), (३) लाई यस जनस्वास्थ्य सेवाको जरजर अवस्थाको कारक मान्न सकिन्छ । महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्नका निम्ति उपकरणहरूको अभाव भएको कमजोर जनस्वास्थ्य सेवा प्रणालीका प्रभावहरूले गहिरो रूपमा जरा गाडेको छ र यस विश्वव्यापी माहामारीको ती देशहरूमा बिगबिगीको सुरुवात भयो भने यस एसिया प्रशान्त क्षेत्रका अधिकांश देशहरूको जनस्वास्थ्य सेवा व्यवस्था नै निपातनावस्थामा पुग्ने भय रहेको छ । अवस्थालाई अझ खराब बनाउन, यस क्षेत्रका कतिपय सरकारहरूले यस विषयमा प्रतिक्रिया, अनुक्रिया दिन वा कुनै कदम चाल्न एवं माहामारीको जोखिमलाई न्यून पार्नका निम्ति आनाकानी ढिला सुस्ती गरिरहे ।

गुणस्तरहीन जनस्वास्थ्य सेवा कार्यक्रमहरूको प्रभावले पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सहित सिमान्कृत जनसंख्यालाई अझै गम्भीर रूपमा असर पार्दछ । विभेद, औपचारिक परिचयपत्रहरूको अभाव, स्वास्थ्य सेवा केन्द्रहरूमा बिरामीहरूको अधिकारमाथी हनन, संवेदनशील स्वास्थ्य सेवा प्रदायकको अभाव र महङ्गो स्वास्थ्य सेवा खर्चहरूका कारण यी जनसंख्याहरूलाई पहिल्यै देखि सामान्य स्वास्थ्य सेवा प्रति पहुँच पाउन सकिरहेका छैनन् । (४) राज्यद्वारा संचालित आउटरीच, परिक्षण र उपचार सेवाहरूमा औपचारिक परिचयपत्रहरू देखाउन पर्ने प्रावधान भएको परिवेशमा पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको स्वास्थ्य आवश्यकताहरूलाई सजिलै बेवास्ता गर्न सकिन्छ र स्वास्थ्य सेवामा उनीहरूको पहुँचमा अझै बाधाहरू थपिन सक्छ । स्वास्थ्य सेवा प्रदायकहरूको विभेदकारी व्यवहारका कारण कोभिड-१९ सम्बन्धी समयमै उपचार तथा सेवाका निम्ति जानका लागि पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू हिच्किचाउन सक्छ, जसकारण उनीहरूको स्वास्थ्य जोखिम अझै बढ्दछ ।

अधिकांश देशहरू लकडाउनमा गइसकेपछी, गहिरो रूपमा जरा गाडिरहेका सामाजिक तथा आर्थिक असमानतहरू पहिले भन्दा अझै सब्बल रूपमा देखा पर्न थालेको छ । धेरै जसो पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू उनीहरूको लैङ्गिक पहिचान र/वा प्रस्तुतीकरणका कारण आफ्नो घरपरिवारबाट वहिष्कृत छन् र औपचारिक रोजगारप्रति पहुँच गर्न सकेका छैनन् । तसर्थ उनीहरू घरबारविहीन हुन पुग्छन् वा अक्सर विचलित र धेरै ठाउँ नभएका सामुदायिक स्थानमा बसोबास गर्छन् । (५) दक्षिण एसिया र प्रशान्त क्षेत्रका धेरै जसो पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सामाजिक वहिष्करण र घरबेटीको विभेदका कारण सामुदायिक स्थानमा बसोबास गर्छन् । यसार्थ उनीहरू पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू मात्र एउटै ठाउँमा गुचुमुचु परेर मूलधार समाजबाट निकट नपरी बसोबास गर्दछन् जुन स्थानहरू अक्सर राम्रो हालतमा हुँदैन । (६) लकडाउनका बेला पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई सुरक्षित आश्रय र पर्याप्त सरसफाई सुविधाहरूप्रति पहुँच नहुन सक्छ । धेरैजसो पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सडकमा गर्ने काम र परम्परागत रीतिरिवाजको काम वा यौन व्यवस्थाय, मनोरञ्जनको क्षेत्र जस्ता अनौपचारिक क्षेत्रमा काम गरी आय आर्जन गर्छन् । सामाजिक सुरक्षा प्रति अति न्यून वा शून्य पहुँच सहित लकडाउनका कारण हुने दीर्घकालीन आर्थिक प्रभावको भार उनीहरूले भोग्नुपरिरहेका छन् । (७), (८), (९) विभिन्न नीजि तथा पब्लिक इकाईहरूले आर्थिक रूपमा पछाडि परेकाहरूलाई सहयोगी सेवा र राहत प्याकेजहरू प्रदान गरी सहयोग गरिरहेका बेला, यस्ता सहयोगका कार्यहरू पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सम्म नपुग्न सक्छ, त्यो पनि विशेष गरी त्यस्ता देश तथा समाजहरूमा जहाँ पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई सामाजिक स्वीकार्यता छैन र अत्यन्तै लाञ्छना लगाइने गरिन्छ । सन् २००४ को भारतीय सागरमा आएको सुनामी, सन् २०१० मा पाकिस्तानमा आएको बाढी, सन् २०१५ मा नेपालमा आएको भूकम्प, सन् २०१५ मा फिलिपीन्समा आएको आँधी र सन् २०१६ मा फिजीमा आएको चक्रवातका बेला मानव कल्याण राहतका आउटरीच कार्यहरूमा पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई भएको विभेदकारी व्यवहारको राम्ररी अभिलेखिकरण पनि भएको छ । (१०) पाकिस्तान र भारतका हिजडा समुदायहरूले यस माहामारीमा पनि यो विभेद भोगिनै सकेका छन् । (११), (१२) आय स्रोत गुमाउनाले पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई यस्तो अनिश्चित स्थितिमा राखेको छ कि जसकारण उनीहरू आफ्नो द्वेषपूर्ण परिवार तथा समाजमा फर्कन बाध्य भएका छन् र त्यहाँ दुर्व्यवहार र हिंसा भोग्न पनि बाध्य छन् ।

यस क्षेत्रका पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूमा उनीहरूको आर्थिक र सामाजिक सिमान्तिकरणका कारण असाक्षरताको दर उच्च छ जसकारण महत्वपूर्ण स्वास्थ्य र सुरक्षाका सूचनाहरू प्रतिको पहुँचमा बाधा पुग्छ । कोभिड-१९ को संक्रमणलाई रोक्नका निम्ति “आफ्नो हात बारम्बार धोऔँ” भन्ने विश्वव्यापी सन्देश फैलिरहँदा यस क्षेत्रका कतिपय देशहरू, विशेष गरी ग्रामीण क्षेत्रहरूमा पर्याप्त र पारलिङ्गी मैत्रीपूर्ण सरसफाईका सुविधाहरू वास्तविकता बन्न सकेका छैनन् । (१३) घर, स्कुल र स्वास्थ्य सेवा केन्द्रहरूमा सरसफाईका पर्याप्त सुविधाहरू नहुनुका कारण रोकथाम उपायहरू लागु गर्न अझै कठिन भएका छन् र यी स्थानहरू आफैमा संक्रमण फैलिने बिन्दुपथ बन्न सक्छन् । त्यसै गरी शहरी र ग्रामीण खाडलका कारण सुरक्षाका सूचनाहरू र स्वास्थ्य सेवा सुविधाहरू समयमै पाउने विषयले कोभिड-१९ को जोखिम अझै बढाएको छ । अझ, आश्रय र शरण खोजिरहेका एवं शरणार्थी वा आप्रवासी पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू विस्थापन एवं सुरक्षित आश्रयस्थान र आधारभूत सरसफाईको सुविधाको अभावका कारण ज्यान जाने जोखिममा छन् । (१४), (१५)

स्वास्थ्य सेवा केन्द्रहरूमा आएको अधिकतम भारका कारण पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको स्वास्थ्य सेवा आवश्यकताहरू, जस्तै लैङ्गिकता अनुरूपी सेवाहरू, प्रति हेल्चेक्र्याइँ र अनिश्चितकालीन स्थगन भएको छ । (१६), (१७) अन्तर्निहित स्वास्थ्य स्तिथि र न्यून स्वःप्रतिरक्षा (इम्यूनिटि) भएका एच.आइ.भि सहित जीवनयापन गरिरहेका पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई कोभिड-१९ बाट ज्यान जाने अझै बढी जोखिम छ । (१८) एच.आइ.भि उपचारहरू विगत वर्षहरूमा अत्याधिक प्राप्ती हुन थालेपनि विश्वमा १ करोड ५० लाख एच.आइ.भि सहित जीवनयापन गरिरहेका व्यक्तिहरूमा रेट्रोभाइरस विरुद्धको थेरापि (ए.आर.टि) प्रति पहुँच छैन र यसकारण उनीहरूको स्वःप्रतिक्षाको क्षमतामा प्रतिफल पुग्दछ । (१९) स्वास्थ्य सेवा प्रदायक केन्द्रहरूमा गोप्यनियताको अभाव र हिँडडुलमा लगाइएको प्रतिबन्धताका कारण एच.आइ.भि. सहित जीवनयापन गरिरहेकाव्यक्तिहरूलाई रेट्रोभाइरस विरुद्धको थेरापि (ए.आर.टि) प्रतिको पहुँच चुनौतीपूर्ण हुँदैछ । वुहान, चाइनमा कतिपय एच.आइ.भि सहित जीवनयापन गरिरहेका व्यक्तिहरू, औषधी सकिएछी प्राप्त सकिरहेका थिएनन् र गोप्यनियताको अभावका कारण सामुदायिक अधिकारीहरूबाट सहयोग प्राप्त गर्न हिच्किचाहट थियो । (२०)

यो सँगै चिन्ताको अर्को विषय धार्मिक तथा सामुदायिक नेतृत्वकर्ताहरूबाट आएको पारद्वेषी र समद्वेषी वाचन पनि हो जसकारण पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू प्रति यस माहामारीका दौरान थप पूर्वाग्रह, लाञ्छना, मौखिक र शारीरिक हिंसालाई समेत बढावा दिन सक्छ । (२१), (२२) फिजी रेन्बो प्राइड फाउन्डेशन र अक्सफाम अष्ट्रेलियाद्वारा गरिएको एक अध्ययनले सन् २०१६ को विन्सटन चक्रावत आउँदा विविध यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अनुभव अभिलेखिकरण गरेको छ । त्यस बखत धेरैजना सामुदायिक र धार्मिक नेतृत्वकर्ताहरूले उनीहरूका कारण भगवानले सजाय स्वरूप त्यस चक्रावत पठाएको भनी दोष लगाएपछी अत्याधिक रूपमा उनीहरू प्रति मौखिक हिंसा, समाजबाट अगलग्याएको र वहिष्करणमा परेको एवं अत्यावश्यक संजालहरूमा पनि असमावेश गरिएको अनुभव छ । (२३) अझ, कतिपय देशहरू, जस्तै नेपालमा कोभिड-१९ को शंका गरिएका व्यक्तिहरूको पहिचान तथा व्यक्तिगत विवरण समेत सार्वजनिक गरिएको थियो (२४) जुन उनीहरूको गोप्यनियताको अधिकारको सरासर हनन थियो र उनीहरूको सुरक्षालाई पनि जोखिममा राखियो । सिमान्कृत र सामाजिक लाञ्छनामा परेका समुदायहरूका निम्ति यी सुरक्षाका जोखिमहरू यस्तो अवस्थामा अझै उच्च हुन्छ ।

पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूले अनुभव गरेको बहु-क्षेत्रीय अन्तर्वर्गिय विभेद एवं फलस्वरूपका जोखिमहरूले उनीहरूलाई मनोस्वास्थ्य समस्या, व्यग्रता र उदासीनताको उच्च जोखिममा राख्दछ । माहामारीको फलस्वरूप आएका आर्थिक र स्वास्थ्य प्रभावहरू तथा पारद्वेषिताको वृद्धिले यी अवस्थाहरूलाई अझै तीव्र बनाउन सक्छ ।

अन्ततः दातृनिकायहरूले यत्तिकै पनि कम स्रोत साधन र लगानी भएको पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको आन्दोलन र महत्वपूर्ण काममा कोभिड-१९ माहामारीको प्रभावलाई पहिचान गरी सम्बोधन गर्नुपर्छ । दातृनिकायहरूद्वारा स्रोत साधानलाई फिर्ता लिने र पुनःप्राथमिकरण गर्ने सम्भावना देखिएकाले पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको समूह तथा संस्थाहरू आफ्नो संस्था र आफूले सेवा प्रदान गर्दै आएको समुदाय वा जनसंख्याको उत्तरजीविता प्रति डर र अनिश्चितता महसुस गरिरहेका छन् । अधिकांश देशहरूमा नागरिक समाज संस्थाहरू र सामुदायिक समूहहरूले कोभिड-१९ माहामारीको प्रभाव भोगिरहेका व्यक्तिहरूलाई अत्यावश्यक सुरक्षा, सेवा र सामाजिक सुविधाहरू पाऊन् भनी सुनिश्चित गर्न अत्यन्तै महत्वपूर्ण कार्यहरू गरिरहेका छन् । राज्यले अक्सर प्रदान गर्न चुकेका सेवा सुविधाहरू यी समुदायहरूलाई प्रदान गर्नका निमि यी समूहहरूलाई आर्थिक सहयोगको निरन्तर आवश्यकता छ । लकडाउन गर्नका निम्ति अपनाइएका बलपूर्वक विधिहरू पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू लगायतका सिमान्कृत वर्गहरूमा विभेदकारी ढङ्गले लागु गर्न सकिन्छ र सत्तावादी एवं सैन्य शासन भएका क्षेत्रहरूमा लकडाउन स्थितिको शोषण गरी नागरिक समाज र मानव अधिकार रक्षकहरू लगायतका आवजहरूलाई दबाउने वा नियन्त्रण गर्ने स्थिति हुन सक्नेमा सबैले त्रास जनाएका छन् ।

पारलिङ्गी तथा विविध लैङ्गिक समुदायहरूमा कोभिड-१९को प्रभावलाई सम्बोधन गर्न सुझावहरू

राष्ट्रिय तथा स्थानीय सरकारहरूलाई

सरकारले यस विषयहरू सुनिश्चितता गर्नुपर्छ :

१) कोभिड-१९ को स्वास्थ्य सेवा सुविधा प्रदान गर्दा कुनै प्रकारको लाञ्छना र विभेद हुनुहुँदैन; यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा प्रस्तुतीकरणको आधारमा हुने सहित ।

२) सबैजना माझ मेडिकल सेवा र उपचारहरू पहुँचयुक्त गराउने र सेवा लिनै नसक्ने गरि महङ्गो गर्नुहुँदैन ।

३) पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूले विभेद रहित समाज पहुँचयुक्त कोभिड-१९ को सेवाहरू सुरक्षित वातावरणमा पाओस् भनी सुनिश्चित गर्नुपर्छ ।

४) पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू विशेष समाजिक र आर्थिक जोखिमहरू पहिचान गरी उनीहरूको मानव अधिकार, सुरक्षा र समस्त भलाईको खयाल गर्दै आर्थिक साहयता वा जीवनयापनको आधारभूत आवश्यकता, लगायतका राहत साहयताहरू पर्याप्त मात्रामा पारलिङ्गी तथा विविध लैङ्गिक जनसंख्या सम्म पनि पुग्नुपर्छ ।

५) कोभिड-१९ सम्बन्धीका वास्तविक, निष्पक्ष र मानव अधिकार सिद्दान्तहरू अनुरूप सूचनाहरू समयमै जनता माझ पुग्नुपर्छ ।

६) न्यून साक्षार वा असाक्षार व्यक्तिहरू एवं दृश्यक र श्रवण अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई समेत मध्यनजरमा राख्दै कोभिड-१९ सम्बन्धीका सम्पूर्ण सूचनाहरू विविध स्थानीय भाषाहरूमा उपलब्ध गराउनु पर्छ ।

७) कोभिड-१९ को सन्दर्भमा स्वास्थ्य डाटा अत्यन्तै संवेदनशील हुन्छ र यस सम्बन्धीको विवरण प्रकाशनले मानिसहरूको सुरक्षालाई जोखिममा पर्दछ र विशेष गरी पहिले देखि नै सिमान्तिकरणमा परेका वर्गहरूलाई । यस्ता विक्तिगत डाटाहरूको सही प्रयोग, विखण्डिकरण र व्यवस्थापन सम्बन्धी मानव अधिकार आधारित कानुनी संरक्षणहरू बनाइनुपर्दछ । (२५)

८) लकडाउन र कोभिड-१९ रोकथामका उपायहरूले गर्दा एच.आइ.भि. परिक्षण र उपचारका सुविधाहरू प्रति प्रतिकूल असर नपुगोस् र एच.आइ.भि. सहित जीवनयापन गरिरहेका व्यक्तिहरूलाई आवश्यक मेडिकल सेवाहरू बिना कुनै बाधा प्राप्त गर्न सकून् ।

९) पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू, विशेष गरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आकष्मिक स्वास्थ्य सेवा प्रतिको पहुँच सुनिश्चित गर्नुपर्छ ।

१०) कोभिड-१९ विरुद्ध सुरक्षात्मक उपायहरू कार्यन्वयन गर्दा मानव अधिकारमा आधारित दृष्टिकोण हुनुपर्छ । कानुन कार्यन्वयनमा गिरफ्तारी वा निगरानी जस्ता बलपूर्वक उपायहरू अपनाउनु भन्दा पनि बरु सुरक्षाको वृद्दिमा केन्द्रित हुनुपर्छ ।

११) कोभिड-१९ को कारण भनी लाञ्छना लगाई लक्षित गरिएका व्यक्ति तथा समुदायहरूको सुरक्षाका निम्ति सरकारले यथाशीघ्र कदम चाल्नुपर्छ । यस्ता घटनाहरूलाई राम्रोसँग छानबिन गरी अभिलेख राखी दोषीलाई करवाही हुनुपर्छ ।

१२) घरबार विहीन अवस्थामा रहेका र असुरक्षित माहोलमा बसोबास गरिरहेका पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूलाई सुरक्षित आश्रयको प्रदान गरिनुपर्छ ।

१३) जनस्वास्थ्य सेवा प्रणालीलाई सब्बल बनाउन सरकारले पर्याप्त स्रोत साधनहरू लगाउनुपर्छ र यस सुविधा प्राप्त गर्न जनतालाई हुने खर्चको भार न्यूनिकरण गर्नुपर्छ ।

१४) जनस्वास्थ्य सहित सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको समावेशिता र उनीहरूको लैङ्गिक पहिचानको मान्यता सुनिश्चित गर्ने प्रकारको आवश्यक कानुन, नीति र कार्यक्रमहरू ल्याउनुपर्छ ।

१५) पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरू सहित पछाडि पारिएका र सिमान्कृत व्यक्ति तथा समूहहरूलाई सहयोग हुनेगरी प्रगतिशील ढङ्गले गरीब घरपरिवारको आयस्रोत वृद्धि हुने गरी सामाजिक सुरक्षा, कर छुट लगायतका सकारात्मक कार्यविधि अपनाउनुपर्छ ।

१६) सरकारले पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको जीवनयापनका अनुभवहरूलाई अध्ययन, अनुसन्धान र अभिलेखिकरण गर्नुपर्छ ताकि भविष्यमा आउने मानवीय संकटमा यस समूहलाई समावेश र उपर्युक्त हुने ढङ्गको नीति, कार्यक्रम तथा विधिहरू अपनाउन सकियोस् ।

राष्ट्रिय मानव अधिकार निकायहरू र संयुक्त राष्ट्र संघ मानव अधिकार निकायहरू :

१) राष्ट्रिय तथा संयुक्त राष्ट्र संघ मानव अधिकार निकायहरूले विभेद रहित र समानताका आधारमा सबैलाई राहत सुविधा र स्वास्थ्य सेवा सुविधा सुनिश्चित गर्न सम्पूर्ण आवश्यक विधि अपनाउनुपर्छ ।

२) राष्ट्रिय तथा संयुक्त राष्ट्र संघ मानव अधिकार निकायहरूले कोभिड-१९ रोकथामका निम्ति राज्यले लगाएका प्रतिबन्ध र अपनाएका विधिहरू न्यायसंगत, आवश्यक र समान छ कि छैन वा विभेदकारी र सबैको मानव प्रतिष्ठालाई सम्मानजनक छ कि छैन भनी हेर्नुपर्छ र माहामारीका दौरान मानव अधिकार अवस्था सम्बन्धी मूल्यांकन गर्नुपर्छ ।

स्थानीय, क्षेत्रीय र विश्वव्यापी मानव अधिकार आन्दोलनहरूलाई :

१) स्थानीय, क्षेत्रीय र विश्वव्यापी मानव अधिकार आन्दोलनहरूले पारलिङ्गी नेतृत्व भएका र पारलिङ्गी समावेशी संस्थाहरू -लाई समर्थन गरी, -सँग सहकार्य गरी प्रासंगिक सूचना र स्रोतहरू जम्मा गर्नुपर्छ । सिमान्कृत जनसंख्याका निम्ति काम गर्ने समूह र संस्थाहरूसँग हातेमालो गर्दै उनीहरूको आवाजलाई निर्णयकर्ताहरू सम्म पुर्याउन सहयोग गर्नुपर्छ ।

दातृनिकायहरूलाई :

१) दातृनिकायहरूले पारलिङ्गी नेतृत्वकर्ता र पारलिङ्गी समावेशी संस्थाहरूलाई आफ्नो कार्यक्रमहरू पुनःप्राथमिकताकरण गरी पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको यस माहामारीमा अत्यावश्यक र यथाशीघ्र आवश्यक विषयहरूलाई सम्बोधन गर्न दिनुपर्छ ।

२) दातृनिकायहरूले यस माहामारीमा ती संस्थाहरूबाट कुनै सहयोगलाई फिर्ता लिनुहुँदैन र अझै सकेमा थप सहयोग गर्नुपर्छ ।

३) दातृनिकायहरूले पारलिङ्गी तथा विविध लैङ्गिक व्यक्तिहरूको स्वास्थ्य आवश्यकताहरू बारे अनुसन्धान र वकालतका कार्यक्रमहरूमा लगानी बढाउनुपर्छ ।

यो एसिया प्रशान्त पारलिङ्गी संजालको वक्तव्यको नेपाली अनुवाद हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s